साउदी अरेबियाको खराब सूचीमा रहेका कम्पनीमा कामदार नपठाउने निर्णय

भक्तपुर न्यूज

२० मंसिर २०७३ ११:०५

साउदी अरेबियाको खराब सूचीमा रहेका कम्पनीमा कामदार नपठाउने निर्णय

काठमाडौं, २० मंसिर । सरकारले साउदी अरेबियाको खराब सूचीमा रहेका रोजगारदाता कम्पनीहरुमा नेपाली कामदार पठाउन स्वीकृति नदिने भएको छ । त्यस्ता कम्पनीको सूची सबै वैदेशिक रोजगारदाता कम्पनीलाई उपलब्ध गराएर उनीहरुलाई कमदार नपठाउन निर्देशन दिइने अधिकारीहरुले बताएका छन् । यसबारेमा सरकार र वैदेशिक रोजगार व्यवसायी बीच हिजो ७ बुंदे सहमति भएको छ । विगतमा कतिपय साउदी कम्पनीले कामदारहरु तलब उपलब्ध नगराउँदा उनीहरु स्वेदश फर्कनुपरेको खबरहरु आएका थिए ।
श्रम मन्त्रालयको वैदेशिक रोजगार विभागले साउदी अरेबियामा रहेको नेपाली राजदूताबासमार्फत् रेड अर्थात खराब सूचीमा रहेका कम्पनीहरुको नाम मागिसकेको छ । त्यस्ता कम्पनी बाहेक दूतावासमा परेको उजुरीको आधारमा पुष्टि भएको कम्पनीलाई समेत कालो सूचीमा राखिनेछ । त्यस्ता कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय भएको श्रम मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेलले बताए । उनले भने, रेड जोनमा परेका र जुन कम्पनीमा नेपालीहरुले दुख पाएका छन्, तलब पाएका छैनन् त्यस्ता खराब कम्पनीहरुमा माग ल्याएमा हामी अन्तिम स्वीकृति दिँदैनौं । त्यसबाट समस्या कम भएर जान्छ भन्ने हाम्रो विश्वास हो ।
वैदेशिक रोजगार विभाग र नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघबिच कामदारलाई समस्या हुन नदिन ७ वटा विषयमा सहमति भएको छ । उक्त सहमतिपत्रमा सम्झौता गरे बमोजिमको काम र तलब नदिइए फर्किन चाहने कामदारलाई देश फिर्तीका लागि आवश्यक कागजात उपलब्ध गराउनुपर्ने उल्लेख छ । त्यसबाहेक अब रोजगारदाता कम्पनीको नाम र सम्झौताको पत्र पनि श्रम स्वीकृति लिनु अघि नै पेश गर्नुपर्ने छ । वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङले भने, रेड जोनमा रहेका कम्पनीको नाम पाएपछि हामी सबै म्यानपावरलाई सूचित गराउनेछौं । त्यस्ता कम्पनीबाट कामदारको माग नलिन र नपठाउन हामी सूचना जारी गर्नेछौं ।
साउदी अरेबियामा मात्र होइन खाडी राष्ट्रमा काम गरिरहेका लाखौं नेपाली कामदारले विभिन्न किसिमका समस्या भोग्दै आएको देखिन्छ । तर सरकारले कामदारका समस्या न्यून गर्न पर्याप्त ध्यान नदिने गरेको गुनासो व्यापक रुपमा प्रकाशमा आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *