कथा मै सिमित रह्यो भक्तपुरको कान्जी हाउस
भक्तपुर, ७ मंसिर । छ लेन सडक खण्डमा देखिने चौपायाको ब्यवस्थापन गर्ने संस्था देखा पर्न नसक्दा सवारी दुर्घटना बढ्दो छ । छ लेन सडक खण्डमा रहेका चौपाया पशुहरुको ब्यवस्थापनका लागि कान्जी हाउस नहुँदा चौपायाकै कारण सवारी यात्रुहरुले ज्यान गुमाउनु परको हो । ग्रामीण भेगबाट ल्याएका पशुहरु बजारतिर छाड्दै जाने प्रवृत्ति बढ्दै गएपछि थप समस्या देखिएको हो ।
गाईवस्तुको उपयोग हुने बेलासम्मको प्रयोग र तत्पश्चात किसानहरुले ती पशु बजारतिर ल्याएर छाड्ने क्रमलाई नियन्त्रण गर्ने निकाय को हो भन्ने समेत जानकारी हुन नसकेको बताउँछन् स्थानीयहरु । काठमाडौंदेखि यस्ता चौपाया बस्तु भक्तपुरमा समेत ल्याएर छाड्ने क्रम बढेको मध्यपुर नगरपालिका जानकारी दिन्छ ।
छाडा पशु बढ्नु र यसको नियन्त्रण गर्ने कान्जी हाउस नहुँदा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था श्रृजना भएको छ, छ लेन सडक खण्डको यात्रामा । भक्तपुरमा छाडा पशुहरुको समस्या बढ्दै जानु र स्थानीय निकायले कान्जी हाउस निर्माणमा कुनै चासो नदेखाएकाले पनि यो समस्या दैनिक बढ्दै गएको धेरैको गुनासो छ । खास गरी भक्तपुरको छ लेन सडकको बीचमा आकर्षक बगैंचा बन्दै गएपछि अधिकांश छाडा पशुहरु त्यस क्षेत्रतिर चर्न जाने हुँदा सवारी दुर्घटनासमेत बढ्दै गएको छ ।
दुर्घटनाको कारण मर्ने जनावरमा चौपाया पशु अधिक रहेको छ । एकातर्फ पशुको ब्यवस्थापनका लागि कान्जी हाउस नहुनु अर्कोतर्फ मरेका सिनोको ब्यवस्थापन गर्न जटिल हुँदा दुर्घटना बढ्नुका साथै वाताबरण समेत प्रदुषित बन्ने गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले भने छाडा पशुका कारण अहिले विभिन्न दुर्घटना बढ्ने भएकाले सरोकारवाला निकायहरुको ध्यान यसतर्फ जानुपर्ने बताउँछन् । छाडा पशुका कारण सवारी साधन दुर्घटना बढ्ने र त्यसको दोष प्रहरीलाई लाग्ने गरे पनि छाडा पशु व्यवस्थापन गर्ने जिम्मेवारी आफूहरुको नभएको जानकारी दिन्छ प्रहरी ।
मध्यपुर नगरपालिका सामुदायिक बिकास तथा फोहोर मैला ब्यवस्थापन शाखाका अधिकृत तुल्सी भक्त तको भन्छन् जडिबुटिदेखि भक्तपुरको हनुमन्ते खोलासम्म यस्ता छाडा पशुको नियन्त्रणको जिम्मेवारी मध्यपुर नगरपालिकाको भएता पनि स्थानको अभाव र नीति कार्यान्वयनको अभावका कारण कान्जी हाउस बन्न नसक्दा चौपाया पशुकै कारण दुर्घटना बढेको र सवारी चालकहरुले ज्यान गुमाउनु परेको छ । उनी भन्छन्, दैनिक ३ चारवटा बाच्छा मर्ने र कुकुरको गणना नभएको समेत उनी बताउँछन् । उनी भन्छन्, सिनोको ब्यवस्थापनमा सोच अनुसार काम गर्न नसकेता पनि नगरपालिकाले केही भने गरेको छ । हरेक वर्ष छ लेन सडकमा देखिने पशुको ब्यवस्थापनको बिषय उठेता पनि कार्यान्वयन हुन नसक्दा समस्या थपिएको छ ।
मध्यपुर नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली भन्छन् सवारी दुर्घटना बढाउने काम यस्ता छाडा पशुको भूमिका हामीले भन्ने गरेको भन्दा पनि बढी रहेको छ । स्थानको अभाव र नीतिको अभावलाई ब्यवहारमा कार्यान्वयन गर्न नसक्दा कान्जी हाउस बन्न सकेको छैन । अर्को तर्फ नगरपालिकाभन्दा बाहिरबाट पशु ल्याएर छाड्ने कामलाई रोक्न नसक्दा यो समस्या दिन प्रतिदिन बढ्दो छ भने यसले सवारी दुर्घटना समेत बढाएको उनी स्विकारछन् । उनी भन्छन्, थिमि नगरपालिकाले मात्र चाहेर केही गर्न नसक्ने भएकाले यस तर्फ अन्य सरोकारवालाहरुको समेत ध्यान पुगेका खण्डमा छाडा पशुको उचित ब्यवस्थापन गर्न सकिनुका साथै चौपाया पशुका कारण हुने दुर्घटना न्यून गर्न सकिन्छ ।
दुर्घटना कमीका लागि बेला मौकामा छ लेन सडक खण्डमा देखा पर्ने केही जनावरको घाँटीमा रातको समयमा टल्कने फिता बाँध्ने संस्थाहरु देखिने गरेता पनि पशुको ब्यवस्थापनमा भने कसैको ध्यान नगएको सडक खण्डका स्थानियहरु बताउँछन् ।
कान्जी हाउस निर्माण गर्न नसकेको जिम्मेवारी आफूहरुले लिनु पर्छ तर के गर्ने कम्तिमा एउटा व्यवस्थित कान्जी हाउस निर्माण गर्न ५० लाख रुपियाँ लाग्ने भएकाले नगरपालिकाको ध्यान त्यसतर्फ जान नसकेको नगरपालिकाका एक कर्मचारी बताउँछन् । कान्जी हाउस उपत्यकाकै प्रमुख समस्या बनेको छ । उनले यसको दोष नगरपालिकालाई लाग्ने गरे पनि नगरपालिका एक्लैले मात्र गरेर केही नहुने भएकाले सबै निकायको साथ र सहयोग नभए केही गर्न सकिँदैन् ।
यो भन्दा अघिका कार्यालय प्रमुखहरुले कान्जि हाउसका बारे प्रक्रिया अगाडि बढाउने जनाएता पनि यो कार्य कथामै सिमित बनेको थिमि नगरपालिकाकै एक कर्मचारी नाम उल्लेख नगरिदिने शर्तमा बताउँछन् । उनी भन्छन् आर्थिक लाभ हुने कामलाई पहिलो प्राथामिकतामा राख्ने र जन चासोको बिषयलाई ओझेल पार्ने गतिबिधिकै कारण कान्जि हाउस कथा बनेको हो ।
एकातर्फ छाडा पशुको ब्यवस्थापनको कठिनाइ रहेको छ भने अर्कोतर्फ पशुपालक किसानहरु सचेत हुन नसक्दा समस्याको समाधान हुन नसकेको स्थानिय बुद्धिजीबिहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेल भन्छन्, छाडा पशुको ब्यवस्थापन गर्न कान्जी हाउसको आवश्यकता रहेको तर आर्थिक अभावका साथै नीतिगत अभावका कारण यो समस्या रहेको छ । छ लेन सडमा मरेका पशुको ब्यवस्थापन गर्न उपत्यकाभित्रका नगरपालिकाहरुले समन्वय गरि समस्या समाधानको बाटो पहिलाउनु पर्ने उनी बताउँछन् । चौपायाकै कारण दुर्घटमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न सबैले ध्यान दिनु पर्ने र यसमा प्रशासन सक्दो लागि परेको समेत उनी बताउँछन् ।
भक्तपुर पशुसेवा कार्यालय जानकारी दिन्छ भक्तपुरमा कान्जी हाउस नहुँदा धेरै समस्या भएको छ । कान्जी हाउस नहुनु समस्या भन्दा पनि किसानहरुले पशुहरुलाई व्यवस्थापन गर्न नसक्दा अहिले भक्तपुरमा छाडा पशुको समस्या बढ्दै गएको छ । गाउँका किसानहरूले गाईलाई नश्ल सुधार गरी उन्नत जातको गाई उत्पादन गर्न सके एकातिर किसानको आयस्तरमा पनि वृद्धि हुने छ भने अर्कोतिर छाडा पशु पनि समस्या नहुने पशु कार्यालय जानकारी दिन्छ । यहाँका छाडा पशुहरूलाई दुर्गम गाउँसम्म पु¥याउन सके त्यहाँ हुने पशुहरूको अभाव पनि कम हुने भन्दै कार्यालयले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताएको छ । कार्यालयले यसरी पशुहरूलाई व्यवस्थापन गर्न सके भक्तपुरमा छाडा पशुहरूबाट आउने समस्या स्वतः कम हुने जानकारी दिन्छ ।
कान्जी हाउस निर्माण गर्न सरकारले बजेट विनियोजन नगरेकै कारण छ लेन सडक खण्डमा अनाहाकमै नेपाली सवारी चालक र यात्रुहरुले ज्यान गुमाउनु परेको छ । किसान, स्थानीय निकाय र जिल्ला पशुसेवा कार्यालय सचेत भएका खण्डमा छाडा पशु समस्या नबन्ने र पुशकै कारण अनाहाकमा ज्यान गुमाउनु पर्ने ब्यथाको अन्त्य हुने छ लेन सडक भएर यात्रा गर्नेहरु बताउँछन् । छाडा पशु व्यवस्थापन गर्न विभिन्न निकायहरूले विभिन्न कार्य गर्छन् तर पनि सरकारको ध्यान भने यसतर्फ जान सकेको छैन । यो समस्या समाधान गर्नेतिर सबैको ध्यान जानु समग्र भक्तपुरबासीको आवाज पनि हो ।