तत्कालीन नेकपा माओवादी र सरकारबीच बिस्तृत शान्ति सम्झौता आज १० वर्ष पूरा

भक्तपुर न्यूज

५ मंसिर २०७३ ७:५७

तत्कालीन नेकपा माओवादी र सरकारबीच बिस्तृत शान्ति सम्झौता आज १० वर्ष पूरा

काठमाण्डौं, ५ मंसिर । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौताको आज ठिक दश वर्ष पूरा भएको छ ।
बिस्तृत शान्ति सम्झौता दश वर्ष भन्दा लामो नेपाली गृहयुद्धलाई अन्त्य गरेको घोषणा गर्दै उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोईराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले बि.स. २०६३ मंसीर ५ गते हस्ताक्षर गरेको थिए ।
यस सम्झौताले ने.क.पा. (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो । तत्कालिन माओवादीले विस्तृत शान्ति सम्झौतासँगै हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
सम्झौतासँगै नेपालमा पहिलोपटक संविधानसभाको निर्वाचन सम्पन्न भयो भने पहिलो संविधानसभाको पहिलो बैठकले नेपाल औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।
तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन । संविधान निर्माण प्रक्रियाको जञ्जालमा जेलिएको शान्ति प्रक्रियाले संविधान निर्माणपछि पनि तीव्रता पाउन सकेको छैन् ।
द्वन्द्वको दश वर्ष पूरा भए पनि राज्यसँग अहिले पनि मृतक, बेपत्ता र पीडितको आधिकारिक तथ्याङ्कसमेत छैन । शान्ति तथा पुनःनिर्माण मन्त्रालय र हाल गठन भएका आयोगका तथ्यमा पनि एकरूपता छैन । बेपत्ता खोजबिन आयोगमा दुई हजार ९ सय ४२ व्यक्ति खोजीका लागि निवेदन परेका छन् ।
शान्ति मन्त्रालयको तथ्याङ्कअनुसार भने एक हजार ५ सय ३० मात्र व्यक्ति बेपत्ता छन् । यस्तै, द्वन्द्वकालीन विभिन्न घटनाको छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगमा पनि ५७ हजार ७ सय ५३ उजुरी दर्ता भएका छन् ।
यो दश वर्षको अवधिमा ९ वटा सरकार परिवर्तन भएका छन् । राजतन्त्र हटाएर गणतन्त्र स्थापना समेत भयो, सेना समायोजन आशिंक रुपमा सम्पन्न भयो तर पनि त्यस प्रतिवद्धता अनुसार शान्ति र परिवर्तनका थुप्रै काम गर्न सरकार र राजनीतिक दलहरु असफल देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *