बालुवाटारमा प्रमुख तीन दलको बैठक
काठमाडौं, २ मंसिर । संबिधान संशोधनमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।
मधेस केन्द्रित दलले संबिधान संशोधनमा सहमति जुटउन दुई साताको समयसीमा दिएपछि प्रमुख दलले संबिधान संशोधनमा साझा धारणा बनाउने प्रयास गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा भएको छलफलमा कांग्रेस सभापति शेरवहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली सहभागी छन् ।
दाहाल र ओली तथा कांग्रेस र मधेस केन्द्रित दलबीच हिजो छुट्टाछुट्टै छलफल भएपछि तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
संबिधान संशोधनमा सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्र एकै ठाउँमा भए पनि एमालेले संशोधनको औचित्य पुष्टि गर्नुपर्ने अडानमा छ ।
प्रदेशका सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्व स्वरुपबारे संविधान संशोधन हुनुपर्ने मोर्चाको माग छ । तराई–मधेस केन्द्रित दलहरुको मोर्चाले सोमबार प्रधानमन्त्रीलाई संविधान संशोधनको प्रस्ताव लम्बाउन दुई साताको समयसीमा दिएर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको थियो ।