भक्तपुरमा १२ बालबालिकाको उद्धार

भक्तपुर न्यूज

२६ कार्तिक २०७३ ७:२९

भक्तपुरमा १२ बालबालिकाको उद्धार

भक्तपुर, २६ कात्तिक । चाँगुनारायण नगरपालिका–१७ स्थित झौखेलमा अनुमतिबिना बालगृह सञ्चालन गरेको भन्दै बालगृह सञ्चालनमा रोक लगाई बालबालिकाको उद्धार गरिएको छ । अनुमति नै नलिई झौखेलको जोयफुल न्यूज मिशन नामको बालगृह सञ्चालनमा आएको अनुगमनको क्रममा पाइएपछि केन्द्रीय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समिति भक्तपुरले संयुक्त रुपमा जोखिममा रहेका बालबालिकाको उद्धार गरेको हो ।
गृहमा ५ बालिका र ७ जना बालकगरी जम्मा १२ जना बालबालिकाहरुको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालय भक्तपुरका प्रमुख निलाकुमारी घिमिरेले जानकारी दिइन् । अनुगमनका क्रममा अनुमती बिना बालगृह सञ्चालन गरेको पाईएपछि कानुन बमोजिम बालबालिकाहरुको उद्धार गरिएको उनले बताइन् ।
बालगृह सञ्चालनको मापदण्ड नपुगेको, बालबालिकाहरुको जन्म दर्ता, स्थानीय निकाय र सम्बन्धीत जिल्लाको बालकल्याण समितिको सिफारिस लगायतका कानुनी प्रक्रिया समेत पुरा नगरेको पाइएको छ । उद्धार गरिएका बालबालिकाहरुको उमेर ७ देखि १८ वर्षसम्मका रहेको पाइएको छ । ती मध्ये कक्षा १० मा अध्ययनरत एक युवती र एक युवकको उमेर १८ वर्षको थियो । उद्धारका क्रममा केही बालबालिकाहरुले आफ्नो पढाई छुट्टिने चिन्ता व्यक्त गर्दै त्यही बस्ने अडान लिएका थिए ।
बालगृहमा बालबालिकाहरुको स्याहार सुसारको लागि आहार नभएको, खाना पकाउने, लुगाधुने लगायतका कार्यका लागि समेत कुनै कर्मचारी नभएको पाईएको थियो । त्यसैगरी बालगृहमा आश्रित बालबालिकाहरुलाई तरकारी खेती, कुखुरापालन, बाख्रापालनमा समेत काममा लगाउने गरेको पाईएको घिमिरेको भनाइ छ । उद्धार गरिएका ती बालबालिकाहरुलाई काठमाडौं गोल्फुटारस्थित हिमाली नविन समाज नामको बालगृहमा लगिएको छ ।
केन्द्रीय बालकल्याण समितिका अनुगमन सहायक देवीप्रसाद डोटेलले उद्धार गरिएका बालबालिकाहरुको आवश्यक स्वास्थ्य परिक्षण र मनोपरामर्श पश्चात सम्बन्धीत अभिभावकहरुको जिम्मा लगाइने जानकारी दिए । उनले बालबालिकाहरुको पारिवारिक पुर्नमिलन गराईनुका साथै उनीहरुको शिक्षा, स्वास्थ्य र सरल जिवनयापनको लागि समेत समाज मार्फत उनीहरुका अभिभावकहरुलाई आवश्यक सिपमूलक तथा आयआर्जन तालिम लगायतको सहायता समेत प्रदान गरिने बताए ।
स्थापनाको केही वर्ष इमानुयल चर्चको सहयोगमा सञ्चालित सो बालगृह चर्चले सहयोग बन्द गरेपछि अव्यवस्थित भएको सञ्चालक सुनसरीका सम्राट सेन्चुरीले बताएका छन् । उनले आर्थिक स्रोतका अभावका बाबजुद बालबालिकाहरुलाई उचित शिक्षा प्रदान गर्दै आईरहेको, उनीहरुकै लालन पालनका लागि बालगृह परिसरमा तरकारी खेतीलगायत कुखुरा र बाख्रापालन दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *