स्थानिय तहको निर्धारणमा भक्तपुरका राजनीतिक दलहरुको आक्रोश
भक्तपुर, कार्तिक २६ गते । भक्तपुरमा स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समिति भक्तपुरले जिल्लामा ४ वटा स्थानीय तह बनाउने प्रतिवेदन आयोगलाई बुझाईसकेपछि स्थानीय राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।
स्थानीय विकास अधिकारी ध्रुव कोइरालाले जिल्लाका अधिकांश राजनीतिक दलहरू र जनताले दिएको सुझावविपरीत भक्तपुर जिल्लामा ४ वटा स्थानीय तहसहितको प्रतिवेदन सिमाना निर्धारण आयोगमा पठाएको राजनीतिक दलहरुले आरोप लगाएका हुन् ।
राजनीतिक दल र भक्तपुरका जनताले यसअघि कायम रहेका ६ वटा नगरपालिका नै ६ वटा स्थानीय तह कायम राख्नुपर्ने पटक–पटक दिएको सुझावलाई ठाडै अस्वीकार गरि प्राविधिक समितिले एकलौटीरुपमा चारवटा स्थानीय तह बनाउने गरी आयोगमा प्रतिवेदन बुझाएको भन्दै राजनीतिक दलहरुले आपत्ति जनाएका हुन् ।
प्राविधिक समितिले राजनीतिक दलहरुसँग छलफल नै नगरि प्रतिवेदन आयोगलाई बुझाएपछि जिल्लाका राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टी, नेकपा (माले) राप्रपा नेपाल, राप्रपा लगायत ९ वटा रानजीतिक दलले सामूहिकरुपमा प्राविधिक समितिलाई असहमति पत्र बुझाएका छन् । प्राविधिक समितिले आयोगमा पठाएको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने भन्दै यो सञ्चिनुपर्ने अन्यथा आयोगमा नै लिखित असहमति बुझाउने उनीहरु बताउँछन् ।
नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा हाल कायम रहेका छवटै नगरपालिका यथावत गरी उक्त नगरपालिकालाई स्थानीय तहमा रुपान्तरण गर्नुपर्ने पार्टीगत धारणा भएको बताए । भक्तपुरमा दैनिक जनसंख्या र सहरीकरण बृद्धि हुँदै गएकाले पुरानो जनगणनाको मापदण्डलाई आधार मानेर स्थानीय तह पुनःसंरचना गर्नु जायज नहुने उनको भनाई छ । उनले भने भक्तपुरमा पहिला छ वटा नगरपालिका बनाउन काँग्रेसको महत्वपूर्ण भूमिका रहेको र हाल पनि छ वटै नगरपालिकालाई कायम गर्नु पर्ने राजनीतिक दलहरुको मान्यता रहेता पनि त्यसलाई बेवास्ता गरि चार स्थानिय तहको तर्जुमा गरेको छ यसको बिपक्षमा आफूहरु रहेका छौं ।
नेपाल मजदुर किसान पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ र नेकपा (माले) भक्तपुरका जिल्ला प्रतिनिधि मनोज थापा प्राविधिक समितिले दलहरुसँग छलफल नै नगरी छ वटा स्थानीय तह बनाउने प्रतिवेदन आयोगमा बुझाएको बताउँछन् । स्थानिय बिकास अधिकारीले राजनीतिक दलहरुसँगै कुनै परामर्श नगरि एकोहोरो रुपमा ४ वटा स्थानिय तहको खाका प्राविधिक समितिलाई बुझाए पछि राजनीतिक दल र स्थानिय बिकास अधिकारी बीच मनमुटाबको अवस्था देखिएको उनीहरु बताउँछन् ।
आयोगले भक्तपुरमा ४ देखि ६ वटा स्थानीय तह बनाउने संख्याको सीमा दिएको थियो । प्राविधिक समितिले भने ४ वटा मात्र स्थानीय तह बनाउँदा उपयुक्त हुने भन्दै प्रतिवेदन आयोगलाई बुझाएको छ । प्राविधिक समिति भक्तपुरका संयोजक एवं स्थानीय विकास अधिकारी धु्रव्र कोइरालाले राजनीतिक दलहरुलाई जिल्लाको स्थानीय तह पुनःसंरचनाको पार्टीगत धारणा लिखितरुपमा माग गर्दा कुनै पनि पार्टीेले लिखित धारणा नदिएपछि चारवटा स्थानीय तह बनाउन उपयुक्त हुने प्रतिवेदन आयोगलाई बुझाएको बताउँछन् ।
आयोगले उपत्यकाभित्र नगरपालिका बन्न ६० हजार जनसंख्या आवश्यक पर्ने मापदण्ड बनाएको थियो । भक्तपुरमा २०६८ सालको जनसंख्या अनुसार अनन्तलिङ्गेश्वर नगरपालिकामा ३७ हजार जनसंख्या, भक्तपुरमा ८१ , मध्यपुर थिमीमा ८३ चाँगुनारायणमा ३२, नगरकोटमा २२ र सूर्यविनायक नगरपालिकामा ४० हजार जनसंख्या भएको प्राविधिक समिति भक्तपुरले जनाएको छ ।
प्राविधिक सहयोग समितिले अनन्तलिङ्गेश्वर र सूर्य्विनायक नपा जोडेर सूर्यबिनायक नपा, चाँगुनारायण र नगरकोट नगरपालिका जोडेर चाँगुनारायण नपा, भक्तपुर नपा र मध्यपुर थिमी नपा यथावत राखेर ४ वटा स्थानीय तहको सिफारिस गरेको हो ।
सिमाना निर्धारण आयोगलाई पठाइएको सिफारिसमा भक्तपुर नपामा १० वटा वडा, मध्यपुर थिमी नपामा ९ वटा वडा, सूर्यबिनायक नपामा १० वटा वडा र चाँगुनारायण नपामा ९ वटा वडा रहने व्यवस्था गरिएको छ ।
राजनीतिक दलका प्रतिनिधिहरुको ६ वटा स्थानिय तहलाई नै कायम गर्नु पर्ने पक्षमा रहेका छन् । उनीहरुको भनाई रहेको छ, २०६८ को जनगणनालाई मध्यनजर गर्दै जसरी संख्याको आधारमा स्थानिय तहको निर्धारण गरिएको छ यो भक्तपुरको हकमा गलत रहेको उनीहरु बताउँछन् । पछिल्लो समयमा भक्तपुरमा तिब्ररुपमा बढ्दो सहरीकरण र जनसंख्याको चापलाई नियाल्ने हो भने छ वटा नगरपालिका भन्दा पनि बढी गर्न पर्ने उनीहरु बताउँछन् । स्थानिय तहको निर्धारणमा भक्तपुरका राजनीतिक दलहरुको तिब्र आक्रोश देखिएको छ ।