भक्तपुर अस्पताल आफैं रोगी

भक्तपुर न्यूज

२५ कार्तिक २०७३ ५:२५

भक्तपुर अस्पताल आफैं रोगी

भक्तपुर, २५ कार्तिक । बिरामी भए उपचारका लागि अस्पताल गई डाक्टरसँग उपचार गर्ने सल्लाह जो कसैले पनि दिन्छ । तर भक्तपुरको हकमा भने यो तथ्य लागू हुन सकेको छैन् । गरिब निमुखाका लागि सरकारले सञ्चालनमा ल्याएको भक्तपुर अस्पताल आफैं रोगी बनेको छ र उपचारका लागि डाक्टरको पर्खाइमा छ । बिरामीहरुलाई उपचार गराउनु पर्ने भक्तपुर अस्पताल अहिले आफैं बिरामी जस्तै भएको छ ।
विक्रम संवत १९६३ सालमा स्थापित नेपालकै पुराना अस्पतालको उचित व्यवस्थापन गर्न नसक्दा, पर्याप्त जनशक्ति र व्यवस्थित् भौतिक पूर्वाधारको अभावमा अस्पतालको सेवाप्रवाहमा ठूलो समस्या देखिनुका साथै आफंै बिरामी बनेको हो ।
उपत्यकाभित्रकै सहरमा सञ्चालनमा रहेको नेपालकै पुरानो अस्पतालका बारे जानकारी नभएका सायदै कमै मन्त्री, नीतिनिर्माता र सरोकारावालाहरु होलान् तर पनि कसैको ध्यान अस्पतालको सुधार तर्फ जान सकेन् र दिन प्रतिदिन अस्पताल जीर्ण बन्दै गयो । हरेक स्वास्थ्य मन्त्रीको परिवर्तनसँगै भक्तपुर अस्पतालको रोग निको होला भन्ने आशमा भक्तपुरका स्थानियहरु रहेता पनि जुन जोगी आए पनि कानै चिरिएको उखान बन्ने गरेको छ ।
बषौंसम्म पनि आवश्यक गाइनोकोलोजिष्ट, जनरल मेडिसियन, अर्थोपेडिक लगायतका विशेषज्ञ डाक्टरहरु भएतापनि सेवाको प्रभावकारी न्यून रहेको छ । हरेक पटक सरकार परिवर्तनसँगै अस्पतालको समस्याबारे केन्द्रलाई जानकारी गराउँदा समेत कतै सुनवाई नभएको अस्पतालस्रोतले जानकारी दिन्छ । दरबन्दी अनुसार कर्मचारी नहुनु, जीर्ण भौतिक संरचना, सहजरुपमा औषधी आपूर्ति नहुनु व्यवस्थित् खानेपानी, विद्युत एम्बुलेन्सको अभाव लगायतका समस्याले अस्पताल आफैं रोगी भएको अस्पतालका मेडिकल रेकड प्रमुख त्रैलोक्यलाल मूलेपति जानकारी दिए । मूलेपतिका भन्छन् विशेषज्ञ डाक्टरको र दरबन्दी अनुसार कर्मचारी नहुँदा अस्पतालले सेवाग्राहीको चाहना अनुसार सेवा प्रवाह गर्न सकेको छैन् ।
दैनिक रुपमा विभिन्न सेवाका लागि अस्पतालमा आउने बिरामीहरु उपचारको अभावमा अन्यत्र जान बाध्य भएका छन् । अस्पतालले सेवाग्राहीको अपेक्षा अनुसार सेवा प्रवाह गर्दै जाने हो भने अस्पतालको आमूल परिवर्तन गर्नु जरुरी छ । सामान्य रोगको समेत उपचार गर्नलाई धौ धौ हुने अस्पतालमा रोग निकोको आश लिएर आएका रोगीहरुको हातमा निराशा बाहेक केही हात नलाग्ने उपचारका लागि आएका रोगीहरु गुनासो पोख्छन् ।
अस्पतालका सिनियर मेडिकल सुपरिटेण्डेन हरिबहादुर केसीले भन्नुभयो–अस्पतालको समग्र समस्याको बारेमा मन्त्रालयमा पटक पटक लिखित रुपमा आग्रह गर्दा पनि मन्त्रालयले उपेक्षा गरेको छ ।
स्वास्थ्य मन्त्रालयले अस्पतालले केन्द्रिय स्तरको सेवा प्रवाह गरे हुन्थ्यो भन्ने चाहन्छ तर सुविधा भने जिल्ला स्तरको पनि उपलब्ध नगराउँदा समस्या ज्यूँका त्यूँ रहेको हो ।
अस्पताल सुधारका लागि आफूहरुले पटक पटक मन्त्रालयलाई ध्यानकषर्ण गराइए पनि कुनै सुनुवाइ नभएकोमा बिलौना गर्दै उनले सर्वसाधारणको स्वास्थ्यसँग जोडिएको कुरामा मन्त्रालय गम्भिर हुनुपर्ने बताए ।
पहिलाको तुलनामा अहिले अस्पतालमा केहि सुधार भए पनि अपेक्षाकृत रुपमा भने सुधार हुन नसकेको भन्दै केसीले अस्पतालले आइसियू खोल्ने तयारी गरे पनि सो अनुसारको पूर्वाधार र बजेटको समस्या भएको बताउँछन् ।
अस्पताल विकास समितिका अध्यक्ष नवराज गेलालले अस्पतालको दुरावस्ता देख्दा आफू गम्भिर भएको बताउँछन् । सर्वसाधारणलाई मध्ये नजर गर्दैै सर्वसुलभ सेवाका लागि स्थापित नेपालकै पुरानो अस्पतालले सहज सेवा प्रवाह गर्न नसक्दा उपचारका लागि आउनेहरुको अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए ।
अन्य क्षेत्रमा कर्मचारी पर्याप्त नभए पनि सेवा प्रवाह गर्न सकिन्छ तर विशेषज्ञ डाक्टरको अभाव हुँदा कतिपय सेवा प्रवाहमा नै अवरुद्ध भएको छ । प्रशासनिक जटिलता अर्को समस्या बनेको छ अस्पताल भित्र थुप्रै आन्दानीको स्रोत भए पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अस्पतालको ध्यान नगएको उनको भनाइ छ ।
अस्पतालमा अहिले मेडिकल सर्जिकल, स्त्री तथा प्रशुति रोग, बाल रोग, नाक, कान ,घाँटी, दन्त सेवा, परिवार नियोजन मातृ शिशु र फिजियोथेरापी सेवा प्रदान गरिदै आए पनि उक्त सेवा प्रभावकारी नभएको सेवाग्राही र सरोकारवालाहरुको भनाइ छ ।
उपत्यकाभित्रको भक्तपुर असपतालको हालत तर्फ ध्यान दिन नसकेका हरेक सरकार र स्वास्थ्य मन्त्रीहरुले कसरी मोफसलका अस्पतालहरुको विकास गर्लान भन्ने प्रश्न जो कसैमा उठ्नु स्वभाविक रहेको भक्तपुर अस्पतालमा उपचारका लागि पुग्नेहरु गुनासो गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *