काठमाडौँ । सुन्दर बन्ने वा देखिने रहर जो कोहीलाई पनि हुन्छ । आफूलाई सुन्दर देखाउन मानिसहरू जेपनि गर्न तयार छन् । क्रिम–पाउडर दल्नेदेखि कस्मेटिक सर्जरी का विधि अपनाउँछन् । अनुहारलाई गोरो, राम्रो, नरम र चमकदार बनाउने क्रिम वा लोसन विभिन्न ब्रान्ड र कम्पनीले अलग–अलग नाममा उपलब्ध गराएका छन् ।
नेपाली उपभोक्ताले पनि विभिन्न विकल्पहरू भेटाएका छन् । उनीहरू एकपछि अर्को क्रिम आफ्नो अनुहार र छालामा ‘ट्राई’ गरिरहेका हुन्छन् । छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तुजस्तै काम गर्ने गर्दछन् । ‘द ब्रिटिश स्किन फाउन्डेशन’ले अनुहारमा गोरो बनाउने क्रिमहरूमा विभिन्न रङ्ग मेट्ने वस्तु तथा केमिकलहरू पाइने हुँदा यस्ता सामग्रीहरूको प्रयोग नगर्न सुझाव दिइएको छ ।
बिबिसीका अनुसार ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू कुनै हालतमा प्रयोग नगर्न सुझाव दिइएको हो । अनुहारलाई गोरो बनाउने धेरैजसो उत्पादनमा रङ्ग खुइल्याउने हाइड्रोक्विनोन भन्ने तत्त्वहरूका साथै मर्करी पनि हुन सक्ने बताइएको छ ।
यस्ता उत्पादनहरू अनलाइन, खुद्रा विक्रेता तथा अन्य पसलमा राख्ने गरिएका हुनाले धेरैजसोले त्यसमा प्रयोग भएका सामग्री र तिनको मात्रा स्पष्ट रूपमा उल्लेख गर्ने नगरेको हुँदा यस्ता सामग्री प्रयोग गर्ने उपभोक्ताहरू खतरामा परेका देखिन्छन् । आम मानिसको गोरो हुने मोहलाई बुझेका अधिकांश व्यापारीले नक्कली प्रसाधनको खुलेआम बेचबिखन समेत गर्ने गरेका छन् । एलजीएका अनुसार हाइड्रोक्विनोन नामक केमिकलले छालाको माथिल्लो तह नै नष्ट पारिदिन सक्छ जसले गर्दा छालाको क्यान्सर, कलेजो र मृगौलामा पनि घातक असर पर्न जान्छ ।
साथै मर्करीले पनि जीवननै खतरामा पार्ने खालका स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । मानव स्वास्थ्यमा गम्भीर असर पर्न सम्भावना भएकाले चिकित्सकले प्रेसक्रिप्शनमा नलेखेसम्म हाइड्रोक्विनोन स्टेरोइड वा मर्करीयुक्त पदार्थको प्रयोगमा प्रतिबन्धित लगाइएको छ । उपभोक्ताले आफूले लगाउने छालाका क्रिममा के तत्त्व कति मात्रामा प्रयोग गरिएको छ भन्ने जाँच्नुपर्छ र अति कम मूल्य छ भने नक्कली त होइन भन्ने शङ्का पनि गर्नु पर्छ ।
हाइड्रोक्विनोन तत्व र मर्करी भएको क्रिम कहिल्यै प्रयोग गर्न हुँदैन । त्यसैले, द ब्रिटिश स्किन फाउन्डेशनले आफ्नो छालाबारे कुनै चिन्ता भए यस्ता उत्पादनको प्रयोग गर्नुभन्दा पनि डाक्टरसँग कुराकानी गर्न आग्रह गरेका छन् ।
Comments