काठमाडौं । गेडागुडीलाई टुसा उमारेर खाँदा मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व पर्याप्त मात्रामा पाउन सकिन्छ । स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’गेडागुडी उपयुक्त मानिन्छ। यसमा पर्याप्त पोसिलो तथा सस्तो र केही मिसिवट नहुने हुँदा स्वास्थ्यलाई फाइदा पुग्छ ।
टुसा उमार्नु भनेको भिटामिन उद्योग नै घरमा खोल्नु जत्तिकै हुने चिकित्सक बताउँछन् । इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्न तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नका लागि टुसा उमोरर खान सकिन्छ ।
सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ ।
टुसायुक्त खानाको फाइदा:
टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन्छ । जुनसुकै उमेर, लिंग, समूहका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रो शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो ।
यस्ता छन् टुसा उमारिएका गेडागुडी खानुका अन्य फाइदाहरू
– टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन्। गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ।
– टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ। किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन्।
– टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन्। एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ।
– टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ। यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन्।
– टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ।
– वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस्। किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ।
– अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ। एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ।
प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार
Comments