काठमाडौं । आज ७१ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । वि.सं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् ।
प्रकाशित मितिः २०७७ फागुन ७ शुक्रबार
Comments