गोरखा । आरुघाट गाउँपालिका–१ धोर्चेमा बुधबारराति जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित ७ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा जीपमा सवार धार्चे गाउँपालिका–६ का वडासचिव लम्जुङका किरण रिमाल रहेको प्रहरीले जनाएको छ ।
आरुघाट मान्बुबाट काशीगाउँतर्फ जाँदै गरेको ग १ ज ५५०५ नम्बरको जीप उकालोमा चढ्न नसकेर ब्याक भई सडकबाट करिब २ सय मीटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जिपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारको लागि धुन्चेतमा रहेको फेस नेपाल सामुदायिक स्वास्थ्य क्लिनिक पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन २२ बिहीबार
Comments