मकवानपुर । गढी गाउँपालिका–२ गौरी भन्ज्याङमा बुधबार बेलुकी भएको जन्ती बस दुर्घटनाका ४ जनाको मृत्यु भएको छ ।४ मृतक मध्ये ३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
सोही ठाँउका अन्दाजी ३५ वर्षीय सोम बहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका ७ का २४ वर्षीय सुरज लोको सनाखत भएको हो । अन्दाजी २५ वर्षीय युवकको भने सनाखत हुन सकेको छैन ।
जीतपुर भञ्ज्याङबाट सुकौरातर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस ब्रेक फेल भएर बुधबार बेलुकी ७ बजे सडक किनारमा पल्टिएको थियो । दुर्घटनामा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १९ जनाको चुरेहिल अस्पतालमा, ३ जनाको हेटौडा अस्पतालमा र ४ जनाको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचार भइरहेको छ । २६ जना भने उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित मितिः २०७६ फाल्गुन २२ बिहीबार
Comments