काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । हेटौँडा अस्पताल र भक्तपुर अस्पताललाई ३०० शय्या बनाउने निर्णय भएको छ । हाल ती स्पतालहरू १०० शय्या क्षमतामा सञ्चालन हुँदै आएका छन् ।
धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्या बनाउने निर्णय गरिएको छ । त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरिएको हो।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ ।
प्रकाशित मितिः २०८० पौष ०४ बुधबार
Comments