काठमाडौं । क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप नभएको बताएका छन् ।
छोटो अवधिमै अर्बपतिको सूचीमा परेका फ्राइडले जानाजान वित्तीय कानूनहरू आफूले उल्लङ्घन नगरेको दाबी गर्दै आएका थिए । फ्राइडले अदालतसामु आफूले गल्ती भएको स्वीकार गरेपनि वित्तीय अपराध गरेकामा कुनै पश्चाताप गरेका थिएनन् ।
न्यायाधीश कप्लानले फ्राइडलाई २५ वर्षको जेल सजाय तोक्नुका साथै अरू तीन वर्ष पनि निगरानीमा राख्ने गरी आदेश दिनु भएको छ । फ्राइडलाई ११ अर्ब अमेरिकी डलर भुक्तानी गर्न पनि आदेश दिइएको छ । उनले यो रकम विभिन्न व्यक्ति एवं संस्थाबाट चोरी गरेको अदालतले ठहर गरेको थियो ।
फ्राइड छोटो अवधिमै क्रिप्टोको दुनियाँमा माथि पुगेका थिए, र उनी ३० वर्ष नपुग्दै अर्बपति भएका थिए । सन् २०१९ मा सानो स्टार्टअपका रूपमा सुरू गरेको एफटिएक्स क्रिप्टोलाई विश्वकै दोस्रो ठूलो क्रिप्टो करेन्सीमा रूपान्तरण गर्न उनी सफल भएका थिए ।
तर, नोभेम्बर २०२२ मा फ्राइडको ओरालो यात्रा सुरू भएको थियो । अलामेडा रिसर्चका अनुसार, फ्राइडले एफटिएक्सबाट अर्बौं डलर आफ्नो निजी हेज फन्डमा सारेका थिए । एएफपी
प्रकाशित मितिः २०८० चैत्र १६ शुक्रबार
Comments