काठमाडौं, ८ मंसिर । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू भएको छ । पहिलो चरणको निर्वाचन १० मंसिरमो ३२ जिल्लामा हुँदै छ ।
मौन अवधि लागू भएपछि चुनाव प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनै पनि प्रकारका चुनावी प्रचाररप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाईने प्रवत्ता ढकालले बताएका छन् ।
मौनअवधिको पालना नगरेमा १लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवं कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुने आयोगका प्रवक्ता ढकालले चेतावनीसमेत दिए । आचारसंहिता नैतिकको कुरा भएको भन्दै उनले त्यसैले यसको सबैले पालना गर्नुपर्ने बताए ।
पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा २१ मंसिरमा निर्वाचन हुने ४५ जिल्लामा भने प्रसारप्रसार गर्न पाइने भएको छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचारसंहिता लाग्ने ढकालले जानकारी दिए ।
Comments