काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच नागरिकता ऐन प्रमाणीकरण गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले सहजै नेपालको नागरिकता पाउनेगरी पारित नागरिकता ऐनले नेपाली छोरा र छोरीकाबीचमा विभेद सिर्जना गरिदिएको बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले भारतमा विवाहको ७ वर्षपछि मात्र विदेशी महिलाले नागरिकता पाउने व्यवस्था रहेको स्मरण गराउँदै नेपालले उक्त नियमलाई अनुशरण गर्न नसकेको बताए । उनले यस्तो हुनुमा राजनीतिक भुमण्डलिकरणको प्रभाव हुन सक्ने बताए ।
‘विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद डा विमला राई पौड्यालले दलीय ह्विपका कारण विरोध गर्ने ठाउँ रहँदारहँदैपनि सांसदहरुले नागरिकता ऐन पारित गराउनुपरेको बताईन् । उनले अमुक शक्ति निकायलाई रिझाउनकै लागि हतारहतारमा नागरिकता ऐन पारित र प्रमाणीकरण गरिएको आशंका व्यक्त गरिन् ।
‘भारतमा विवाह गरेर जाने नेपाली छोरीले त्यो देशको नागरिक पाउन सात वर्ष कुर्न पर्छ । त्यही देशबाट नेपाली पुरुषसँग विवाह गर्ने महिला (बुहारी)ले तुरुन्तै नागरिकता पाउने व्यवस्था हामीले नै पास गरेर पठायौँ,’ उनले थपिन्, ‘हामी विचरा माननीयहरु प्रभु रिसाउँछन भनेर विभेद रहेको जान्दा जान्दै पनि ठप्पा (समर्थन) लगाउन बाध्य छौँ । दलको ह्वीपको नाममा हामी सांसदका हात बाँधिएका छन् ।’
प्रकाशित मितिः २०८० पौष ०३ मंगलबार
Comments