काठमाडौं । मधेश प्रदेश सरकारले गत आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले बजेटको परिचालन लगायतको विषयमा छलफल गरेर बजेटको आकार तयार गरिएको बताए।
चालू आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा ३३ देखि ३७ अर्बको बजेट ल्याउने झाले जानकारी दिए। बजेटमा विपन्न समुदायलाई निर्वाह भत्ता स्वरूप प्रति महीना एक हजार रुपैयाँ दिने योजना समावेश गरिएको बताइएको छ।
यसका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने र स्रोतको सुनिश्चितता गरिएको झाले बताए। यस्तै‚ प्रत्येक वडामा स्वास्थ्य चौकी र गाउँपालिकाका सामुदायिक विद्यालयमा एउटा शिक्षकको व्यवस्था लगायत योजना बजेटमा समावेश गरिएको छ। बजेटमा स्वरोजगारका लागि अनुदान लगायत व्यवस्था गरिने बताइएको छ।
विगतमा विभिन्न मन्त्रालयले अवण्डा रकम अत्यधिक राखेकाले विकास निर्माणको कार्यमा ढिलासुस्ती तथा योजनामा मन्त्रालयमा पहुँचको आधारमा वितरण गरिने गरिएकाले आगामी बजेटमा त्यसलाई निरुत्साहित गरिने झाले बताए।
प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार
Comments