काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा सर्वविदितै छ । गएको दुई वर्षदेखि उनीहरु एकअर्काको प्रेममा रमाइरहेका छन् । प्रेम सम्बन्धको खुलासा भएपछि यी दुईले पहिलो पटक फिल्म ‘मासु भात’ मा काम गरे । यो फिल्म अझैसम्म रिलिज भएको छैन । यसपछि उनीहरुले अभिनय गरेको फिल्म हो, ‘पोइ पर्यो काले’ ।
बक्सअफिसमा असफल साबित भएको यो फिल्म गएको कात्तिकमा प्रदर्शनमा आएको थियो । अब, चाँडै उनीहरु निर्देशक मधुसुदन भट्टराइको फिल्ममा काम गर्दैछन् । त्यस्तै, यही मंसिर २० गते सौगातको प्रमुख भूमिका रहेको फिल्म ‘माछा माछा’ को एक गीतमा सृष्टिले ठुम्का लगाएकी छन् । प्रेममा परेपछि सौगात र सृष्टिको फिल्ममा ‘ब्याक टू ब्याक’ सहकार्य भैरहेको छ ।
सौगातले आफू अनुबन्ध भएको फिल्ममा सृष्टिलाई अभिनेत्रीको रुपमा सिफारिस गर्ने गरेको चर्चा छ । तर, यो कुरा दुबै नकार्छन् । मेकरले नै आफूहरुलाई एकसाथ फिल्म अप्रोच गर्ने उनीहरुको भनाई छ । आजसम्म कुनै फिल्ममा आफूहरुले एकअर्कालाई सिफारिस नगरेको सौगात र सृष्टि दाबी गर्छन् । तर, एकअर्कासँग फिल्ममा काम गर्न रमाइलो लाग्ने उनीहरु सुनाउँछन् ।
केही हप्ता अगाडि सृष्टिसँग सौगात यूके पुगेका थिए । त्यहाँ सृष्टिको माता-पिता बस्ने गर्दछन् । विवाहका लागि सृष्टिको हात माग्न सौगात यूके पुगेको चर्चा छ । तर, उनी यो कुराको खण्डन गर्छन् । मंगलबार पत्रकारसँगको एक भेटमा उनले यसअघि नै सृष्टिको परिवारसँग विवाहको विषयमा कुराकानी भैसकेको बताए । तर, विवाहको मिति फाइनल नभएको उनको भनाई छ ।
उनले मुस्कुराउँदै भने, ‘सृष्टिको परिवारसँग सामान्य भेटघाट गर्नका लागि यूके पुगेको थिएँ । तर, हात माग्नकै लागि चाहिँ थिएनँ । यसअघि नै उहाँहरुले विवाहको मन्जुरी दिइसक्नु भएको छ ।’ अभिनेता सौगातले यसै वर्ष एकबाट दुई हुने सम्भावना नरहेको बताए । ‘बिहे गर्ने मनस्थितिमा चाहिँ हामी दुबै छौं । तर, यसै वर्ष हुँदैन । अर्को वर्षका लागि तयारी भैरहेको छ’, उनले भने ।
प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार
Comments