काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘बुलाकी’को बुधबार बेलुका रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित समारोहमा फिल्म टोलीसँगै सेलिब्रिटी सहभागी रहे । सुरक्षा पन्त, नरेन खड्का, नीता ढुंगाना, हरिहर अधिकारीदेखि राप्रपा सांसद ज्ञानेन्द्र शाहीसम्म प्रिमियरमा उपस्थित भए ।
‘बुलाकी’को प्रिमियरमा फिल्मको चर्चाभन्दा यसले प्राप्त गरेको हल शो संख्याको विषयले प्राथमिकता पायो । सांसद शाहीदेखि फिल्मका कलाकारसम्मले हलहरुले फिल्मलाई शो विभाजनमा विभेद गरेको भन्दै असन्तुष्टि जनाए । अभिनेता खड्का शोलाई लिएर आक्रामक सुनिए ।
नयाँ निर्मातालाई फिल्म उद्योगमा आउन कठिन रहेको बताउँदै उनले पुरानैको हालीमुहाली रहेको गुनासो गरे । निर्देशक लक्ष्मण सुनारले हलले गरेको विभेदले नरमाइलो लागेको बताए । कर्णालीको परिवेशमा छायांकन गरिएको फिल्मले निःसन्तान भएपछि उत्पन्न सामाजिक असरसँग शीर्ष चरित्रले गर्ने संघर्षको कथा भन्छ । मुख्य भूमिकामा सुरक्षा पन्त छिन् । फिल्ममा राज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरीको समेत अभिनय छ । शुक्रबार नै दयाहाङ राई अभिनित दुई फिल्महरु जारी र बिहेपास पनि प्रदर्शन हुँदैछन् ।
प्रकाशित मितिः २०७९ चैत्र ३० बिहिबार
Comments