महोत्तरी, १ वैशाख । महोत्तरीको बर्दिबास २ मा मुसहर समुदायका लागि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण भएको एकीकृत नमुना बस्ती आज हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी फाउन्डेशनले बनाएको ५३ वटा भवन महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्तु सदालाई साँचो दिएर हस्तान्तरुण गरेका हुन् । कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पहलमा निर्माण गरिएको बस्ती हस्तान्तरण गरिएको हो । फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ । बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ ।
फाउन्डेशनका अनुसार एक घर बनाउन करिब ८ लाख खर्च भएको छ । मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो । स्वदेश तथा विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस, सुन्तलीले बस्ती निर्माण गराएका हुन् । बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकी सहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर पनि निर्माण गरिएको छ । हरेक घर अगाडी बगैचा समेत तयार गरिएको छ ।
Comments