काठमाडौं । राष्ट्रिय टिमका उपकप्तान सुजल श्रेष्ठले विश्वभर फैलिएको कोरानो भाईरस (कोभिड-१९) को संक्रमणबाट जोगिन आफ्ना शुभेच्छुकलाई आग्रह गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कप्तान सुजलले एक भिडियो सन्देशबाट आम जनसमुदायलाई कोरोनाबाट सुरक्षित रहँन र गलत सूचनाबाट नअत्तालिन अनुरोध गरेका हुन् ।
‘यो २-३ हप्ता एकदमै सुरक्षित रहनुहोला । अतिआवश्यक काम भएमात्रै घरबाट बाहिर निस्कनु । आफ्नो गाँउ, ठाँउ र आफुलाई सुरक्षित राख्नुहोला,’ शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका मिडफिल्डर सुजलले बताए ।
कोरोना भाईरसको कारण राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएपछि सुजल सुर्खेतमा रहेका छन् ।
सुजलले कोरोना सम्बन्धि भ्रामक समाचारको पछि नलाग्न र नअत्तालिन समेत आग्रह गरेका छन् । उनले धेरै गलत सूचना बाहिर आएको बताउँदै विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) र नेपाल सरकारको सूचनाको मात्रै विश्वास गर्न आग्रह गरेका छन् ।
‘बजारमा हावादारी कुरा पनि आएका छन् । त्यसको पछि नलाग्नु होला । डब्लुएचओ र नेपाल सरकारले दिएको सूचनाको मात्रै विश्वास गर्नुहोला ।’ सुजलले भनेका छन् ।
सन् २०११ बाट राष्ट्रिय टिममा नियमित स्थान बनाईरहेका सुजलले मंसिर तेस्रो साता सम्पन्न १३ औं सागमा नेपालको कप्तानी समालेका थिए । उनले आफ्ना डेब्यु कप्तानीमै डेब्यु उपाधि हात पारेका हुन् ।
२७ वर्षिय सुजलले यस भाईरसबाट सचेत रहन एक अर्काले ठिक सूचना आदानप्रदान गर्न पनि अनुरोध गरेका छन् ।
‘यो भाईरस कतिलाई जानकारी छ । कतिलाई जानकारी छैन । जानकार भएकाले जानकारी नभएकालाई बताउँनु होला,’ उनले थपे ।
चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभर फैलिएको छ । जसबाट हजारौं मानिसको मृत्यु भईसकेको छ ।
कोरोनाले विश्वभर महामारीको रुप लिएपछि नेपाल सरकार नेपाल सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र २५ जनाभन्दा बढी एकै ठाउ जम्मा नहुन आग्रह गरेको छ ।
कोरोनाकै कारण नेपालका सम्पूर्ण खेलकुद गतिविधि ठप्प रहेको छ ।
प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार
Comments