काठमाडौं । आयोजक त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा पुरानै प्रतिद्वन्द्वी आर्मीलाई २–० को गोलअन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । योसँगै एपीएफले प्रधानसेनापति महिला फुटबलको उपाधि पाँचौं पटक जितेको हो ।
भद्रकालीस्थित आर्मी हेडक्वाटरको मैदानमा एपीएफका लागि रेखा पौडेल र सरु लिम्बुले गोल गरिन् । पाँचौ मिनेटमा एपिएफलाई अग्रता दिलाउन सरुले गोल गरेकी थिइन् । सावित्रा भण्डारीबाट फुस्किएको बललाई सुरु गरेको प्रहार गोलमा परिणत भएको थियो ।
पाँचौ मिनेटमा नै अग्रता सुम्पिएको आर्मीले खेलमा फर्किन पहिलो हाफमा निकै संघर्ष गर्यो । तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न भने सकेन । दोस्रो हाफमा दुबै टोली आक्रमक बनिरहेका बेला एपीएफ खेल सकिन एक मिनेट बाँकी रहँदा दोस्रो गोल गर्न सफल भयो । एपीएफका लागि दोस्रो गोल रेखा पौडेलले गरिन् ।
अन्तिम समयमा रेखाको गोलसँगै एपीएफ लगातार चौथो पटक उपाधि जित्न सफल भयो । समग्रमा एपिएफले पाँचौं पटक उपाधि कब्जा गरेको हो । एपीएफले उपाधिसँगै तीन लाखसहित ट्रफी पुरस्कार पाएको छ । उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ पायो । सेमिफाइनल पुगेका भुटान र नेपाल पुलिसले ५०-५० हजार रुपैयाँ पाए ।
११ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी दीपा राई सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले यमाहाको स्कुटर पुरस्कार पाइन ।
एपीएफकी एन्जिला तुम्बाबो सुब्बा उत्कृष्ट गोलकिपर चुनिदा भुटान टिमकी कप्तान पेमा छोदेन छिरिङ उत्कृष्ट मिडफिल्डर, आर्मीकी पुजा राना मगर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर एपिएफकी सावित्रा भण्डारी र एपीएफकै जनक सिंह थारु उत्कृष्ट प्रशिक्षक घोषित भए ।
उत्कृष्ट सबैले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयीमान महिला खेलाडी आर्मीकी विमला विक भइन् । उनलाई सैनिक श्रीमति संघकी अध्यक्ष दीपा थापाले २५ हजार रुयौयाँ पुरस्कार प्रदान गरेकी थिइन् । प्रतियोगितामा तीन विभागीय क्लबसहित, तीन प्रदेश र २ विदेशी टोली गरी कुल ८ टोलीको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २०७६ पौष १० बिहीबार
Comments