काठमाडौं। बार्सिलोना मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ५–२ ले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको हो ।
बार्सिलोनाका लागि लिओनल मेस्सी ह्याट्रिक गर्दा लुइस स्वारेज र एन्टोइन ग्रिज्मनले एक एक गोल थपे । यस्तै मालोर्काका लागि एन्टे बुडिमिरले दुई गोल गरे ।
खेलको सातौं मिनेटमा ग्रिज्मनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा मालोर्काका बुडिमिरले गोल गर्दै खेलमा फर्काउने कोशिश गरेका थिए ।
४१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे ।
६४ औं मिनेटमा बुडिमिरले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनसँगको अंक दुरी घटाउने प्रयास गरेका थिए । तर ८३ औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए ।
जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ । मालोर्का १४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।
प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार
Comments