काठमाडौं । सन् २०१८ को विश्वकपको उपाधि फ्रान्सलाई दिलाएका एन्टोइन ग्रिजम्यानले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको तारिफ गरेका छन् । हालैमात्र एथ्लेटिको मड्रिड छोडेर ला लिगा च्याम्पियन क्लब बार्सिलोना गएका उनले स्पोर्ट्ससँगको कुराकानीमा आफू ओछ्यानमा हुँदा पनि मेस्सीलाई पास दिनेबारेमा सोच्ने बताएका हुन् ।
बार्सिलोनाका कप्तान मेस्सीले पनि केही दिनअघि ग्रिजम्यानको तारिफ गरेका थिए । मेस्सीले आफ्ना नयाँ सहकर्मी ग्रिजम्यानलाई सन् २०१८ को विश्वका उत्कृष्ट खेलाडीमध्ये एक भएको भन्दै प्रसंशा गरेका थिए । मेस्सीको तारिफ सुनेपछि आफू खुशी भएको बताउँदै ग्रिजम्यानले भनेका छन् ,‘उनको शब्दले मलाई धेरै खुशी बनाएको छ । उनी उत्कृष्ट छन् । जब उनी बोल्छन् तब सारा विश्वले उनलाई सुन्छ । उनलाई यो थाहा छ ।’
‘मेस्सीले भनेका कुराले म गर्व महसूस गरिरहेको छु,’ ग्रिजम्यानले थपे, ‘म उनीसँग खेल्नका लागि आत्तिएको छु । म उनीसँग भेट्न चाहान्छु, बुझ्न चाहान्छु, अभ्यासमा देख्न चाहान्छु, उनका साथमा खेल्न चाहान्छु र उनलाई पास उपलब्ध गराउन चाहान्छु । म बेडमा पनि यिनै विषयमा सोचिरहेको हुन्छु। अभ्यासका क्रममा र भिडियो हेर्दा पनि यही सोच्छु ।’
यसैगरी ग्रिजम्यानले पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड बार्सिलोना फर्किने विषयमा पनि बोलेका छन् । उनले नेयमार बार्सिलोना फर्किउन भन्दै आफूले कामना गरिरहेको बताएका छन् । ‘यहाँ नेयमार ट्रान्सफरका विषयमा धेरै विवरण छन् । नेयमार विश्वस्तरका खेलाडी हुन् एक टप खेलाडी हुन् । यसर्थ नेयमार बार्सिलोनामा फिट हुन सक्छन् ।’एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १२ आइतबार
Comments