काठमाडौं । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार एट्लेटिकोको मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लिएको हो ।
रियलका लागि कासिमिरो, कप्तान सर्जियो रामोस र ग्यारेथ बेलले एक एक गोल गरे । एट्लेटिकोका लागि एन्टोनियो ग्रीजम्यानले एक गोल गरे । १६ औं मिनेटमा कासिमिरोको गोलबाट रियलले अग्रता बनाएको थियो । तर, २५ औं मिनेटमा एट्लेटिकोका ग्रीजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए ।
४३ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । त्यसपछि ७४ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । यस्तै खेलको ८० औं मिनेटमा थोमसले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समिति भएको थियो ।
जितसँगै रियलले २३ खेलबाट ४५ अंक जोडेको छ । रियलले एट्लेटिकोलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । पराजित एट्लेटिकोको ४४ अंक छ । बार्सिलोना ५० अंकसहित शीर्ष स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ माघ २७ आइतबार
Comments