काठमाडौंः लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराएको हो ।
सेलहस्र्ट पार्कमा सोमबार राति भएको खेलमा लिभरपुलका लागि जेम्स मिल्नर र साडियो मानेले गोल गरे । ४५औं मिनेटमा लिभरपुलकै पूर्व डिफेन्डर साकोले मोहम्मद सलाहलाई डि–बक्समा लडाएको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिएको थियो । जसमा जेम्स मिल्नर चुकेनन् ।
दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सलाहको चलाखीपूर्ण पासमा मानेले काउन्टर एट्याकमा एक रक्षकलाई बिट गर्दै गोल गर्न सफल भए । लिभरपुललाई २–० को जित दिलाए ।
लिभरपुलले पहिलो खेलमा वेस्टह्यामाथि ४–० को प्रभावशाली जित निकालेको थियो । जितसँगै लिभरपुल दुई खेलबाट ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ । म्यानचेस्टर सिटी गोल अन्तरमा शीर्ष स्थानमा छ । समान खेलबाट प्यालेसको खातामा ३ अंक छ ।
प्रकाशित मितिः २०७५ भदौ ५ मंगलबार
Comments