भक्तपुर १९ साउन । नेपाल र नेदरल्यान्ड्बीचको दुई एकदिवसिय श्रृखंला १–१ को बराबरीमा टुंगिएको छ । घरेलु टोलीविरुद्धको दोस्रो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट नेपालले १ रनले जितेपछि दुई खेल बराबरीमा टुंगिएको हो ।
नेपालको एकदिवसिय डेब्यू खेलका रुपमा रहेको बुधबारको खेल नेपालले ५५ रनले गुमाएको थियो । आरए मैदानमा नेपाले दिएको २१७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड पुरै ५० ओभरमा अलआउट हुँदै २१५ रनमा समेटियो ।
नेदरल्यान्डका लागि वेस्ले वारेसीले सर्वाधिक ७१ रनको योगदान दिए । ड्यानियल टेर ब्राकले ३९ रन जोडे । पिटर सिलार २१ तथा विन कुपर १९ रनमा आउट भए । फ्रेड क्लासिन १३ रन, सेन स्नाटर १२ रन, एसए इडवार्डस् ९ रनमा आउट भए । पाउल भान मिकिरिन १२ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । ललित भण्डारी र कप्तान पारसले समान २ लिए । सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । सअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।
नेपालको उच्च लक्ष्यमा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका कप्तान पारसले ६९ बलमा ५१ रन जोडे ।
यस्तै अर्धशतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका सोमपालले ४६ बलमा ६१ रनको अर्धशतकीय पारी खेले । निकै आक्रामक ब्याटिङ गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे ।
नेपालका लागि कप्तान पारस खड्काले ५१ रन, सोमपाल कामीले ६१ रनको योगदान दिए । त्यस्तै, सुबास खकुरेल र दिपेन्द्र सिह ऐरीले समान १९,१९ रन, आरिफ शेख १६ तथा ज्ञानेन्द्र मल्ल १३ रन बनाउँदै आउट भए । नेपालका सन्दीप लामिछाने ८, रोहित कुमार पौडेल ६, अनिल साह ४ रनमा आउट हुँदा ललित भण्डारी ४ रनमा अविजित रहे ।
नेदरल्याण्डका फ्रेड क्लासेनले ३ तथा माइकल रिप्पोन र पिटर सीलरले २ २ विकेट लिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाल दुई खेलको ऐतिहासिक एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड पुगेको हो ।
Comments