काठमाडौ. १ साउन । अष्ट्रेलियाका महान खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाका सर्वाधिक गोलकर्ता ३८ वर्षे काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
‘आज मेरो लागि विशेष दिन हो । किनभने आज मैले अन्तर्राष्ट्रिय फुटबलबाट मेरो बुट थन्काउँदैछु ’ सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै काहिलले लेखेका छन्, ‘मैले मेरो देशको लागि के कति गरे त्यसलाई शब्दमा बयान गर्न सक्दिन । समर्थक, टिममेट, कोच सबैलाई धेरैभन्दा धेरै धन्यवाद ।’
काहिलले रसिया विश्वकपमा पेरुविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै १ सय ७ क्याप जित्न सफल भएका थिए । २००४ देखि अष्ट्रेलियाको टिममा रहेका काहिलले ५० गोल पुरा गरेका छन् । उनी अष्ट्रेलियाबाट चार विश्वकप खेल्ने एक्ला खेलाडी हुन् ।
अष्ट्रेलियन क्लब मिलवालबाट व्यवसायिक फुटबल खेल्न शुरु गरेका काहिलले इंग्लिस क्लब एभर्टनमा ८ वर्ष विताएका थिए । जतिबेला उनी खेल जीवनको उच्च फर्ममा थिए । एभर्टनपछि काहिलले न्युयोर्क रेड बुल्स, सांघाई सिन्हा, हाङजु ग्रिनटाउन, मेलवर्न सिटी हुदै पुन मिलवालबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल जीवनमा काहिलले २००६ को विश्वकपमा जापानविरुद्धको खेलमा २ गोल गरेका थिए । २०१५ अष्ट्रेलिया एसियन च्याम्पियन बन्दा काहिलले ३ गोल गरेका थिए । २०१४ को विश्वकपमा नेदरल्यान्डसँग ३–२ ले पराजित भएको खेलमा काहिलले दर्शनीय गोल गरेका थिए । एजेन्सी
Comments