काठमाडौं । महिला विश्वकप फुटबलमा युरोपियन प्रतिद्वन्द्वी इटालिमाथि गोल वर्षा गर्दै स्वीडेन एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको छ। इटालिमाथि ५–० को प्रभावशाली जित निकालेसँगै जारी विश्वकपमा नकआउटमा पुग्ने स्वीडेन तेस्रो टोली बन्यो।
न्युजिल्यान्डको वेलिङ्टनस्थित रिजनल स्टेडियममा स्वीडेनको रवाफिलो जितमा अमेन्डा आइलेस्टेडले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनिअस र रेविका ब्लोमभिस्टले समान एक–एक गोल गरेका थिए।
स्वीडेनको फराकिलो जितसँगै प्रशिक्षक पिटर ग्रेहार्डसनले कीर्तिमान बनाए। उनले महिला विश्वकपमा टिमलाई ७ खेलमा जित दिलाए। यसअघि थोमस डेनर्वी र मारिका डोमानास्कीले समान ६–६ जित दिलाएका थिए।
पहिलो हाफको अधिकांश समय गोलरहित बराबरीमा रहेको खलमा अन्तिम ८ मिनेटमा सनसनीपूर्ण रुपमा तीन गोल गर्न स्वीडेन सफल भयो। ३९औं मिनेटमा एमान्डाले स्वीडेनलाई अग्रता दिलाउँदा ४४औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन्। पहिलो हाफको इन्जुरी समयमा स्टिनाले टिमालई ३–० को अवस्थामा पुर्याउँदा इटाली निरास बनेको थियो।
दोस्रो हाफमा पनि उत्कृष्ट लयमा रहेको स्वीडेनले ५०औँ मिनेटमा टिमका लागि चौंथो गोल गर्यो। एमान्डाले जोनाकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा पाँचौं गोल इन्जुरी समयको छैटौं मिनेटमा गरेकी थिइन्।
जितसँगै समूह ‘जी’मा दुई खेलबाट ६ अंक जोड्दै स्वीडेन एक खेलअगावै नकआउट चरणमा पुगेको छ। समान खेलबाट इटाली ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अर्जेन्टिना र दक्षिण अफ्रिकाको समान १–१ अङ्क रहेको छ।
प्रकाशित मितिः २०८० साउन १३ शनिबार
Comments