काठमाडौैंं । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग खेल्ने भनेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ। अफगानिस्तान छनोटको तयारीका लागि सिधैं भियतनाम जाने भएपछि मैत्रीपूर्ण खेल नहुने भएको हो।
अफगानिस्तानले आधिकारीक फेसबुकमार्फत भियतनाम जाने जानकारी दिएको हो। नेपाल र अफगानिस्तानबीचको खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुने तय थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले पनि मैत्रीपूर्ण खेल नहुने बताएको छ।
नेपाली टिमको अहिलेसम्म कतार जाने दिनको पक्का समेत भएको छैन। सिनियर खेलाडी र प्रशिक्षकबीच विवाद बढेपछि नेपालको प्रशिक्षणमा समेत असर गरेको थियो। जसका कारण मैत्रीपूर्ण खेलका लागि पनि तयारी हुन पाएन।
छनोटका लागि भने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियमित कप्तान किरणकुमार लिम्बु र १० सिनियर खेलाडीबिनाको टिम घोषणा गरेका थिए।विवादको छानविन गर्न गठित कार्यदलले खेलाडीलाई छनोटमा समावेश नगर्न र छनोट प्रतियोगितापछि प्रशिक्षकको विकल्प खोज्न सिफारिस गरेको थियो।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मितिः २०७९ जेठ ०८ आइतबार
Comments