काठमाडौंं । इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति भिल्ला रियललाई ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा लिभरपुललाई जित निकाल्न निकै संघर्ष गर्नु पर्यो ।
खेलको तेस्रो मिनेटमा बोउलाए डीयाले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा फ्रान्सिस कोक्विनलिनले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा लुइस डियासले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए । यस्तै खेलको ८५ औं मिनेटमा इट्टिनेले रातो कार्ड पाएपछि भिल्ला १० खेलाडीमा समेटिएको थियो । अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मितिः २०७९ बैशाख २१ बुधबार
Comments