काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत अहिले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावेले टस जितेर पहिलो बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउ“सो १ बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रने नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने अवसर छ । सन्दीपले घरेलु मैदानमा सिरिज जित्ने मुख्य लक्ष्य भएको बताएका छन् । जिम्बावे ‘ए’ पनि बलियो टोली हो ।
जिम्बावे ‘ए’ नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।
प्रकाशित मितिः २०७९ बैशाख १८ आइतबार
Comments