काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट १० जना खेलाडीले छाडेपछि नयाँ खेलाडीलाई थप गरिएको छ । आसन्न एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिमका १० खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि क्याम्प छाडेका थिए ।
विहीबार खेलाडीहरुले पत्रकार सम्मेलन गरेर प्रशिक्षकको व्यवहारका कारण आफूहरुले क्याम्प छाडेको बताएका थिए । उनीहरुले क्याम्प छाडेपनि मुख्य प्रशिक्षक अल्मुताइरीले नयाँ खेलाडीलाई समावेश गरेर प्रशिक्षण गराएका हुन् ।
एन्फाले आधिकारीरुपमा नयाँ खेलाडीहरुको नाम सार्वजनिक भने गरेको छैन । प्रशिक्षणमा सहभागीहरुका तस्वीर अनुसार रुपबहादुर लामा, निरकुमार राई, शिब गुरुङ, विकास तामाङ, जर्जप्रिन्स कार्की, आकाश बुढामगर, प्रशान्त अवस्थी, अभिषेक बराल, विशाल सुनार, शेशेहाङ आङदाम्बे प्रशिक्षणमा सहभागी छन् ।
छनोटमा नेपाल समूह ए मा रहेर प्रतिस्पर्धा गर्दै छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनोट खेलहरु कुवेतमा आगामी ८ देखी १४ जुन सम्म आयोजना हुँदै छ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा स्थान बनाउने छन्।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले ८ जुनमा जोर्डनसँग खेल्दा दोस्रो खेलमा ११ जुनमा कुवेतसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै १४ जुनमा नेपालले इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
प्रकाशित मितिः २०७९ बैशाख १६ शुक्रबार
Comments