काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाले गरिदिएको भिसा खारेजको विरुद्ध पुनः अदालत पुगेका छन् । अष्ट्रेलियन सरकारले भिसा खारेज गरिदिएपछि जोकोभिचको अष्ट्रेलियन ओपन खेल्ने नखेल्ने अन्योल बनेको छ ।
संघीय अदालतका प्रमुख न्यायाधीस जेम्स अलसोपले उनी र अर्को दुई न्यायाधीसले आइतबार साँझसम्म फैसला सुनाउने आशा व्यक्त गरेका छन् । अष्ट्रेलियन ओपन सोमबारबाट सुरु हुनेछ । अष्ट्रेलियन ओपनमा जोकोभिचले कीर्तिमानी ९ पटक उपाधि जितिसकेका छन् ।
अष्ट्रेलियन ओपन आयोजक अष्ट्रेलियन टेनिस संघले अदालतमा मुद्दा सुनुवाई भएको ७५ मिनेटभित्र प्रतियोगिताको तालिका सार्वजनिक गर्ने जनाएको छ । जोकोभिचको खेल तालिका पहिलो दिनमै पर्ने सम्भावना बलियो छ ।
अध्यागमन मन्त्री एलेक्स हकले शुक्रबार सार्वजनिक चासोको विषयमा आफ्नो विवेक प्रयोग गरेर ३४ वर्षीय स्टार जोकोभिचको भिसा खारेज गरिदिएको बताएका थिए ।
यसअघि, पनि जोकोभिचलाई मेलबर्न विमानस्थलबाट अस्ट्रेलिया प्रवेशमा रोक लगाएपछि उनी अदालतमा गएका थिए । जहाँ जोकोभिचको पक्षमा फैसला गरिएको थियो । अस्ट्रेलियन सरकारले जोकोभिचले आफ्नो देश प्रवेशका लागि स्वास्थ्य मापदण्ड पूरा नगरेको बताउँदै आएको छ ।
जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाए नलगाएको बारे स्पष्ट पारेका छैनन् । जोकोभिचको मुद्दाको सुनुवाइ शुक्रबार राति नै हुने बताइएको थियो । तथापि,आज सुनुवाइ हुँदैछ । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ०२ आइतबार
Comments