काठमाडौं । मोबाइल, ल्यापटप, टिभी तथा अन्य इलेक्ट्रोनिक डिभाइसको अधिक प्रयोग गर्ने मानिसहरूले आत्महत्या गर्ने सम्भावना ज्यादा हुने देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ५ घण्टा वा त्योभन्दा बढी इलेक्ट्रोनिक डिभाइस चलाउने मानिसले एक घण्टासम्म चलाउनेले भन्दा आत्महत्याको प्रयास दुई गुणा बढी गरेको पाइएको थियो ।
अमेरिका र बेलायतमा गरिएका ४ ठूला अध्ययनले हरेक दिन पाठ्यक्रमबाट अलग रहेर आधादेखि १ घण्टा डिजिटल मिडियामा तथा इलेक्ट्रोनिक डिभाइसमा समय बिताउनाले खुशी मिल्नुका साथै मानसिक स्वास्थ्य ठीक रहने निष्कर्ष निकालेको छ । तर, १ घण्टाभन्दा धेरै यस्ता कुरामा सबै काम बिर्सेर चलाउन थाल्दा भने मानसिकस्थिति बिग्रन सक्छ । सामाजिक सञ्जालहरूमा अधिक समय अनलाइन रहनुको परिणाम घातक समेत हुन सक्छ ।
इलेक्ट्रोनिक डिभाइसको अत्यधिक प्रयोग गर्ने मानिस आफ्नो जीवनदेखि कहिले खुशी हुन सक्दैन र उदास रहिरहने गर्दा डिप्रेसनको सिकार हुन पुग्छ । विशेषगरी किशोर–किशोरीमा प्रविधिको प्रयोग र दैनिक जीवनमा खुशी रहनुको बीच सम्बन्ध ज्यादा हुन्छ । सामाजिक सञ्जालमा रहेका अन्य मानिसहरूको जस्तो देखासिखी गर्दा, अरुको तुलनामा आफू राम्रो हुन नसक्दा, राम्रो प्रतिक्रिया नपाउँदा, सामाजिक सञ्जालमार्फत् प्रेममा परेका कारण युवायुवतीहरू विभिन्न तनावका कारण डिप्रेसनमा पुगी आफूलाई नोक्सान पुर्याउने र आत्महत्या गर्ने विचार आउने गर्छ ।
सन् २०१७ मा १४ देखि २० वर्षका युवायुवतीको डिप्रेसनको दर ६० प्रतिशत बढेको छ । यस उमेरका मानिसको दिमागमा निकै नकारात्मक सोच आउने हुँदा स्मार्ट फोन र डिजिटल मिडियाले अझ प्रभाव पारेको हुन्छ । त्यसैले, धेरै समय सामाजिक सञ्जाल र इलेक्ट्रोनिक डिभाइसको प्रयोग नगरी आफूलाई मनपर्ने काममा ध्यान लगाउँदा, नयाँ ठाउँ घुम्न गइ, किताब पढेर समय बिताउनु नै बुद्धिमानी हुन्छ ।
प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार
Comments