काठमाडौँ । जिल्लामा सञ्चालित एम्बुलेन्सहरु नियमानुसार चलेको नपाइएपछि स्वास्थ्य कार्यालय प्युठानले ४ वटा एम्बुलेन्सको साँचो नियन्त्रणमा लिएको छ।
एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ बमोजिम एम्बुलेन्स सञ्चालनका लागि स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्नेमा जिल्लामा सञ्चालित १५ एम्बुलेन्समध्ये ७ वटाले मात्र अनुमति लिएको जिल्ला एम्बुलेन्स समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए। ‘अनुमति लिएर मात्र चलाउन पत्राचार गरे तापनि अटेर गरि नियमबमोजिम सञ्चालनमा नआएपछि ४ वटा एम्बुलेन्सको साँचो र कागजपत्र नियन्त्रणमा लिएका हौं ‘, उनले भने।
होटल व्यवसायी, भारतीय भूपू सैनिक रजवारा, प्युठान काठमाडौं नेवा समाज, जोन्से स्मृति प्रतिष्ठान, सुस्वास्थ्य प्युठान लगायतका संस्थाद्वारा सञ्चालित एम्बुलेन्सहरुले अनुमति लिएका छैनन्। सरकारी स्वास्थ्य संस्थाबाट सञ्चालित एम्बुलेन्सले प्रक्रिया पूरा गरे पनि गैरसरकारी संस्थाहरुको एम्बुलेन्स सञ्चालन गर्ने होडबाजी बढ्दै गएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी पुष्कल श्रेष्ठ बताउँछन्।
जिल्लामा सञ्चालित एम्बुलेन्सहरु नियमसंगत रुपमा सञ्चालनमा नआएको जनगुनासो बढ्न थालेपछि शुक्रबार अनुगमन गरिएको हो। अुगमनका क्रममा अनुमतिपत्र नलिएको, तोकिएको भाडादर कायम नगरिएको, भाडादरको लिस्ट नराखेको, लगबुक नराखेको र अनुमति लिए अनुसारका स्थानमा सञ्चालन नभएको पाइएको सुवेदीले जानकारी दिए।
नियमानुसार सञ्चालनमा नआए दर्ता खारेज
कतिपय एम्बुलेन्सहरु दुर्गममा अनुमति लिएर सुगमतिर नै चल्ने गरेको पनि पाइएको उनले बताए। त्यस्तै हरेक चौमासिकमा एम्बुलेन्स सञ्चालकहरुले प्रगति प्रतिवेदन स्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने प्रावधान भए पनि कतिपयले हालसम्म पनि नबुझाएको र वार्षिक लेखा परीक्षण पनि नबुझाएको पाइएको छ।
अनुमति नलिई सञ्चालन गरिएका एम्बुलेन्सलाई कागजपत्र सहित अनुमतिपत्र लिनका लागि ३ दिनभित्र स्वास्थ्य कार्यालयमा उपस्थित हुन आग्रह गरेको सुवेदीले जानकारी दिए। जिल्लामा सञ्चालित एम्बुलेन्स अब पनि नियमानुसार सञ्चालनमा नआए दर्ता खारेजीका साथै आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।
प्रकाशित मितिः २०७६ साउन ४ शनिबार
Comments