१० असार । साउदी अरेबियाले महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिएको छ । महिलालाई सवारी साधन चलाउन प्रतिबन्ध लगाउने विश्वको एकमात्र मुलुक साउदीले समाजिक सुधार अभियान अन्तर्गत त्यो प्रतिबन्ध हटाएको हो ।
रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको एकजना बीबीसी संवाददाता बताउँछन् ।
यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरिरहेको देशलाई आधुनिकीकरणतर्फ डोर्याउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।
पछिल्लो परिवर्तनको घोषणा अघिल्लो सेप्टेम्बर महिनामा गरिएको थियो । साउदी अरेबियाले यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरेको थियो ।
झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । (एजेन्सी)
Comments