भक्तपुर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा घरेलु टोली नेपालले स्वर्ण पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा भुटानलाई २–१ ले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । यो सँगै नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।
नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे । यस्तै भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले एक गोल गरे ।
खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै, ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।
यससँगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ । जारी सागमा भुटानको यो पहिलो रजत हो । यसका साथै पुरुष फुटबलमा भुटानले रजत जितेको पनि पहिलो पटक हो ।
नेपालले सागको फुटबलमा चौथो स्वर्ण पदक जितेको हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।
प्रकाशित मितिः २०७६ मंसिर २४ मंगलवार
Comments