काठमाडौं । लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ इंग्लिस क्लब लिभरपुल, तर यात्रा यो पटक त्यति सजिलो हुने छैन । किनकी बाधक बन्न सक्छ स्पेनिस क्लब बार्सिलोना, त्यो भन्दा पनि कप्तानी गरिरहेका स्टार स्ट्राइकर लियोनल मेस्सी ।
लिभरपुलले फाइनल प्रवेशको पहिलो परीक्षा अर्थात सेमिफाइनलको पहिलो लेगमा बुधबार राति बार्सिलोनासँग खेल्दैछ । गएको सिजन रियल मड्रिडसँग पराजित भएर उपाधि बिहीन भएको लिभरपुलले यो पटक सेमिफाइनलमै युरोपको बलियो टिम प्रतिस्पर्धी पाएको हो ।
लिभरपुलका लागि ठानिए जति कठिन पनि नहुन सक्छ बार्सिलोना किनकी यो पटक क्याटलान जाइन्ट प्रायतः बार्सिलोनामाथि निर्भर छ । विगतका सिजनमा जाभी तथा आन्द्रेस इनिएस्टा जस्ता खेललाई नियन्त्रणमा राख्न सक्ने पावर हाउस थिए र मेस्सीसहितका उत्कृष्ट गोलकर्ताहरु । तर यो पटक मेस्सीको पावर मै बार्सिलोनाको भर छ । र यो भरमा उत्साह भरेको छ मेस्सीको उत्कृष्ट लयले।
लिभरपुलमा मोहम्मद सालह, रोबर्टो फिरमिनोसहितका खेलाडी छन्, जो फेरि एकपटक विश्व फुटबलको चर्चाको केन्द्रमा आउन सक्ने छन् । बार्सिलोना र लिभरपुलबिचको सेमिफाइनल खेल अपेक्षाकृत भन्दा फरक नतिजासहित टुंगिन सक्ने फुटबल पण्डितहरुले बताएका छन् । खेल बार्सिलोनाको मैदानमा मध्य रातमा हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १८ बुधबार
Comments