काठमाडौं । आईपीएल टीम राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई जरिवाना लगाइएको छ । मंगलबार अरूण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरूद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै सामसनलाई खेल शुल्कको ३० प्रतिशत जरिवाना गरिएको हो ।
उनले अम्पायरको निर्णयमा असहमति जनाएपछि जरिवाना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामसनले जरिवाना पनि स्वीकार गरिसकेका छन् । मंगलबारको खेलमा दिल्लीका शाई होपले बाउन्ड्री लाइनमा क्याच लिएपछि सामसन आउट भए ।
१६औं ओभरको चौथो बलमा मुकेश कुमारले गुड लेन्थमा बल दिँदा सामसनले लङ अनतर्फ सट खेलेका थिए । होपले क्याच लिएका थिए । तर, उनको खुट्टा बाउन्ड्री नजिकै देखिन्थ्यो । तेस्रो अम्पायरले क्याचलाई क्लिन मानेर सामसनलाई आउट घोषित गरेका थिए । सोही विषयमा सामसनले असहमति जनाएका थिए । उक्त खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
Comments