काठमाडौं १३ साउन । इंग्ल्यान्डको लर्डसमा नेपालले आज आइतबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । क्रिकेटको मक्का मानिने लर्डसमा नेपालले मेरिलिबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड सम्मलित त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।
लर्डसले निकालेको खेल तालिका अनुसार सिरिजको पहिलो खेलमा एमसीसी र नेदरल्याण्डबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार २ः४५ मा सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले एमसीसीसंग खेल्ने छ । नेपाल र एमसीसीबीचको खेल नेपालीसमय अनुसार बेलुका ५ः५५ मा सुरु हुनेछ । सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र नेदरल्याण्डले खेल्ने छन् । नेपाल र नेदरल्याण्डबीचको खेल राति ९ः०५ मा सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । नेपालले सन् २०१५ पछि पहिलोपटक टी–ट्वान्टी खेल खेल्न लागेको हो ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट १ र ३ मा ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।
Comments