२८ जेठ । एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड एसोसियट देश स्कटल्याण्डसँग पराजित भएको छ । आफ्नै देशमा आएको पाहुना टोली इंग्ल्याण्डलाई स्कटल्याण्डले ६ रनले हराएको हो ।
इडिनबर्गमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ४८ ओभर ५ बलमा अलआउट हुनुअघि ३ सय ६५ रन मात्र बनाउन सक्यो । स्कटल्याण्डले ६ रनको रोमाञ्चक जित हात पार्यो।
स्कटल्यान्डका लागि क्यालम म्याकलियोडले नटआउट खेल्दै १ सय ४० रन बनाए । कप्तान काइल कोट्जरले ५८ र ग्रेग मुन्सीले ५५ रनको अर्धशतकिय पारी खेल्दै टोलीको योगफल बढाएका थिए । इंग्ल्याण्डका अदिल रसिद र लियाम प्लंकेटले २–२ विकेट लिए ।
जवाफमा इंग्ल्यान्डले राम्रो सुरुआत लिएपनि ४९ औं ओभरमा अलआउट भयो । जोनी बेरस्टोले १ सय ५ रन जोड्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । मध्यक्रमका ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली पराजित हुन पुग्यो । जेसन रोयले ३४, एलेक्स हेल्सले ५२, मोइन आलीले ४६ र लियाम प्लंकेटले नटआउट खेल्दै ४७ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् । स्कटल्याण्डका मार्क वाटले ३ तथा अलास्दिर इभान्स र रिची बेरिङटनले २–२ विकेट लिए । (एजेन्सी)
Comments