काठमाडौं । घरेलु टिम वेस्ट इन्डिजले चौंथो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि क्विन्टन डी ककले ६० रनको अर्धशतकीय इनिङ्स खेले । एडिन मार्क्रमले २० रन जोड्दा कागिसो राबडाले अविजित १६ रन बनाए ।
वेस्ट इन्डिजका ड्वेन ब्राभोले ४ तथा आन्द्रे रसेलले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले । लेन्डल सिमोन्सले ४७ रन बनाए । फाबियन एलनले अविजित १९ रन जोड्दा निकोलस पुरणले १६ न बनाए । दक्षिण अफ्रीकाका ताब्रेज शामी र जर्ज लिन्डेले २-२ विकेट लिए ।
यस जितसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ । दुई टिमबीचको अन्तिम तथा निर्णायक खेल शनिबार हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १८ शुक्रबार
Comments