काठमाडौँ । नेपालले भ्रष्टाचार हुने देशहरुको सूचिमा आफ्नो स्थान केही सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘करप्सन परसेप्सन इन्डेक्स’ मा नेपालले सन् २०१९ मा ११ स्थान सुधार गरेको देखिएको छ ।
कुल १०० अंक मध्ये ३४ अंक प्राप्त गरेको नेपाल विश्वका १८० देश रहेको सूचिमा सन् २०१९ मा ११३ औँ स्थानमा परेको हो । सन् २०१८ मा नेपाल यो सूचिमा ३१ अंकसहित १२४ औँ स्थानमा थियो ।
६ वटा अन्तर्राष्ट्रिय संस्था विश्व बैंक, आइएमएफ, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस परियोजना र भिडिइएमले गरेको अनुसन्धानमा विश्वका १८० देशमा भ्रष्टाचारको अवधारणागत अवस्थालाई बरियताक्रममा पेश गरिएको छ ।
विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ । उसले ८७ अंक प्राप्त गरेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको जारी सूचिमा उल्लेख छ । सोमालियाले मात्रै ९ अंक प्राप्त गरेको छ ।
दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो । भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थानमा छ । यस्तै भारत र चीन समान ४१ अंक प्राप्त गरी ८० औँ स्थानमा छन् । श्रीलंका ३८ अंक प्राप्त गरी ९३ औँ स्थानमा, माल्दिभ्स २९ अंक प्राप्त गरी १३० औँ स्थानमा र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३ औँ स्थानमा छ ।
ट्रान्सपरेन्सी इन्टरनेल नेपाल च्याप्टरका मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ । । पैसाले राजनीतिमा प्रभाव पारेका मुलुकमा भ्रष्टआचार मौलाएको देखिएको उनले बताए । सन् २००४ देखि नेपालमा ट्रान्सपरेन्सीको सूचांकमा समेटिन थालेको हो ।
प्रकाशित मितिः २०७६ माघ ०९ बिहीबार
Comments