काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल मट्टितेलको मूल्य वृद्धि गरेको छ। सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ।
निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल(मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ। हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्यअनुसार मिति गत मङ्सिर २८ मा पेट्रोल तथा डिजेल(मट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः रु एक र रु दुईले वृद्धि गरी पेट्रोलको प्रतिलिटर रु १०८ र डिजेल÷मट्टितेलको प्रतिलिटर रु ९१ कायम गरेको थियो।
त्यसपछि आइओसीबाट १६ डिसेम्बर २०२० र १ जनवरी २०२१ मा प्राप्त खरीद मूल्यमा बढेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार सो मितिमा मूल्य वृद्धि गर्नुपर्ने देखिएको भए तापनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ।
हाल १६ जनवरी २०२१ मा प्राप्त मूल्यअनुसार १ डिसेम्बर २०२० को तुलनामा मूल्यवृद्धि नगर्दा निगमलाई अर्धवार्षिक रु ६७.५५ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ।
प्रकाशित मितिः २०७७ माघ ६ मंगलबार
Comments