काठमाडौं । इटालीलाई विश्वकप जिताएका फरवार्ड लेजेण्ड पाउलो रोसीको निधन भएको छ। केही समययता विभिन्न खाले स्वास्थ्य समस्यासँग जुध्दै आएका ६४ वर्षिय रोसीको मृत्यु भएको हो।
इटालीका लागि ४८ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकप १९८२ मा गोल्डेन बुट विजेतासमेत रहेका रोसीले २० गोल गरेका थिए। युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने उनले त्यहीँ वर्ष बालन डी अर पुरस्कार पनि जितेका थिए।
सन् १९८१ मा टुरिन फर्किनुअघि युभेन्टसबाटै करियर सुरु गरेर रोसीले कोमो, भिसेन्जा र पेरुजियाबाट पनि व्यवसायिक फुटबल खेलेका थिए। सन् १९७७/७८ को सिजनमा भिसेन्जाबाट उनले २४ गोल गर्दै इटालियन सिरी ‘ए’ को उच्च गोलकर्ता पुरस्कार जितेका थिए।
युभेन्टसमा चार सिजन बिताउने क्रममा उनले दुई पटक इटालियन सिरी ‘ए’, एक पटक कोपा इटालिया र एक पटक युरोपियन कप तथा अन्य थुप्रै उपाधि जितेका थिए।
व्यावसायिक फुटबलको अन्तिम समयतिर भने उनले हेलास भेरोना र एसी मिलानबाटसमेत व्यवसायिक फुटबल खेलेका थिए।
सन् १९८२ को विश्वकपको फाइनलमा पश्चिम जर्मनीविरुद्ध खेल जित्दा उनले निर्णायक गोल गरेका थिए। इटालीका लागि विश्वकपमा उनले ९ गोल गरेका थिए।
प्रकाशित मितिः २०७७ मंसिर २५ बिहिबार
Comments