लेस्टर सिटीका क्लाउडियो रेनारी उत्कृष्ट प्रशिक्षक
एजेन्सी, २६ पुस । इङ्लिस क्लब लेस्टर सिटीका इटालियन प्रशिक्षक क्लाउडियो रेनारीले फिफा वर्ष प्रशिक्षकको उपाधि जितेका छन् । रियल म्याड्रिडका जिनेदिन जिदान र पोर्चुगलका फर्नान्डो सान्तोषलाई पछि पार्दै रेनारीले फिफा वर्ष प्रशिक्षकको उपाधि जितेका हुन् ।
उनले ज्युरिचमा गएराती आयोजित कार्यक्रममा २२ दशमलव ६ मत प्राप्त गर्दै दुवै भेट्रान प्रशिक्षकलाई पछि पारे । रेनारीले इङ्लिस प्रिमियर लिगमा प्रायः पुछारमा रहने क्लब लेस्टर सिटीलाई गत साल अप्रत्यासित रुपमा लिग विजेता बनाएका थिए । पहिलो पल्ट च्याम्पियन्स लिग खेलिरहेको लेस्टर उनकै अगुवाईमा अहिले अन्तिम १६ मा पनि प्रवेश गरेको छ ।
गत वर्ष म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका जिदानले १६ दशमलव ५६ मत प्राप्त गरे । यस्तै पोर्चुगललाई युरो कपको उपाधि दिलाएका सान्तोषले १६ दशमलव २४ मत प्राप्त गरेका थिए ।