काठमाडौं । चेन्नई सुपर किङ्सलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा चेन्नईलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।
चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको जितमा इशान किशनले अविजित ६८ र क्विन्टन डी ककले अविजित ४६ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । चेन्नईका लागि साम करणले ५२, इमरान ताहिरले अविजित १३, कप्तान महेन्द्र सिंह धोनीले १६ र सार्दुल ठाकुरले ११ रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्टले ४, राहुल चाहर र जस्प्रित बुम्राहले २र२ तथा कल्टर निलले १ विकेट लिए । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । चेन्नईले भने ११ खेलमा ६ अंक जोड्दै पुछारमा रहेको छ ।
यस्तै, मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार
Comments