विराटनगर । श्रीमान-श्रीमतीको झगडा छुट्याउन गएका होटल सञ्चालकको कुटाइबाट एक जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो । त्यसपछि झगडा छुट्याउनका लागि होटल मालिक २६ वर्षीय गोपाल तामाङ पुगेका थिए।
झगडा छुट्याउने क्रममा तामाङले धकेल्दा मल्लिक भुँइमा लडेर टाउकोमा चोट लागेर बेहोस भएका मल्लिकलाई आइतबार राति उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको थियो । तर बीएण्डसीले उपचार गर्न नसक्ने बताएपछि भारतको सिलिगुडी लगिएको थियो । प्रहरी उपरीक्षक खड्काका अनुसार मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको हो ।
घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको प्रहरी उपरीक्षक खड्काले बताए ।एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments