काठमाडौं। इङ्लिस प्रिमियर लिगको जारी सिजनको अन्तिम दिन शीर्ष चारभित्र रहन र रेलिगेशनबाट बच्न रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
कोरोना भाइरस संक्रमणका कारण सिजन पूरा हुनेमा शंका थियो। तर, ४० दिनको बीचमा बाँकी ९२ खेल आज सकिदैछ। लिगको अन्तिम चरणका खेलमा शीर्ष चारमा पर्न तीन टीमको प्रतिस्पर्धा हुदैछ भने रेलिगेशनबाट बच्न पनि तीन टीमबीच प्रतिस्पर्धा हुँदैछ।
उपाधि विजेता लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ। बाँकी दुई स्थानका लागि चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच आज रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
तेस्रो स्थानमा रहेको युनाइटेड र तेस्रो स्थानमा रहेको चेल्सीको समान ६३ अंक छ। पाँचौं स्थानमा रहेको लेस्टरको ६२ अंक छ। लेस्टरले तेस्रो स्थानको युनाइटेडलाई घरेलु मैदानमा आतिथ्य प्रदान गर्नेछ। शीर्ष चारभित्र युनाइटेडलाई बराबर खेले पुग्छ भने लेस्टरलाई जित्नै पर्ने दबाब छ।
लेस्टरले जिते युनाइटेडलाई शीर्ष चारमा रहन चेल्सीको नतिजामा भर पर्नुपर्छ। चेल्सीले छैटौं स्थानको उल्भरह्याम्पटनविरुद्ध घरेलु मैदानमा खेल्नेछ। चेल्सीले जितेमा चौथो स्थान पक्का हुनेछ भने पराजित भए युनाइटेड र लेस्टरको नतिजा कुर्नुपर्छ।
युनाइटेड र चेल्सीले जित वा बारबरी खेल्यो भने युनाइटेड र चेल्सी शीर्ष चारमा पर्नेछन्। लेस्टरले जित्यो र चेल्सीले जित वा बराबरी खेल्यो भने युनाइटेड शीर्ष चारबाट बाहिरिनेछ। त्यस्तै लेस्टर र युनाइटेडले बराबरी खेल्नुका साथै चेल्सी हार्यो भने चेल्सी शीर्ष चारबाट बाहिरिनेछ। एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ११ आइतबार
Comments